Monday, June 10, 2019

बजेटमा राजनीति हावी

यो बिचार कान्तिपुरमा जेष्ठ २६, २०७६ गते प्रकाशित भएको थियो।



आर्थिक वर्ष २०७६/७७ को बजेट निकै वितरणमुखी र ‘पपुलिस्ट’ भएको भन्दै धेरैले आलोचना गरे । बजेट भाषणको भोलिपल्ट अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडाले भने, ‘दोधारे होइन, दुईधारे बजेट ल्याएँ ।’ उनले तीव्र आर्थिक वृद्धि गर्न भौतिक पूर्वाधारमा यथेष्ट बजेट विनियोजन गरेको र सामाजिक न्यायका लागि वृद्धभत्ता बढाएको सुनाए ।

अघिल्लो वर्ष आफैंलाई मन नपरेको भनिएको सांसदलाई बजेटको उनले यस पटक खुलेर समर्थन गरे । प्रथम दुई वर्षमा तीव्र आर्थिक वृद्धि गरेर आर्थिक आधारलाई फराकिलो बनाउँदै स्रोतको सुनिश्चित गरेपछि बल्ल भत्ता बढ्ने आफ्नै सिद्धान्तको उल्टो बाटो उनले रोजे । स्रोतको सुनिश्चितता नभएका बेला नै भत्ता बढाउनुले बजेट वितरणमुखी र दोधारे मात्र होइन, वित्तीय अनुशासनलाई तिलाञ्जली दिएर निहित पार्टीगत स्वार्थ पूरा गर्न ल्याइएको प्रस्ट हुन्छ ।

अघिल्ला सरकारहरूले गर्न नसकेका आर्थिक र सामाजिक क्षेत्रमा दूरगामी प्रभाव पर्ने नीतिगत र प्रक्रियागत सुधार गर्न सक्ने जनादेश र अवसर यो सरकारसँग छ । स्रोतले धान्नै नसक्ने वितरणमुखी र लोकप्रिय बजेट ल्याउन हतारिनुअघि केही वर्ष सामाजिक सुरक्षा कार्यक्रमहरूलाई चुस्त बनाई लक्षित वर्गसम्म पुर्‍याउने पहल गर्नु जरुरी थियो ।

पुँजीगत खर्चका संरचनागत समस्या हल गर्ने, बजेट बनाइने परम्परागत प्रणालीलाई बदलेर परियोजना छनोट र बजेट विनियोजनमा आमूल परिवर्तन गर्ने, कृषि र औद्योगिक क्षेत्रमा उत्पादन तथा उत्पादकत्व बढाउन संरचनागत परिवर्तनमा पहल गर्ने, भूमि र पुँजी उत्पादनमा परिचालन गर्न कानुनी तथा नीतिगत पहल गर्ने र बिग्रँदोवित्तीय अनुशासनलाई सपार्नेजस्ता काम गर्नु उपयुक्त हुन्थ्यो । यसबाट बजेट चुहावट कम पनि हुन्थ्यो र आर्थिक वृद्धि भई सरकारलाई यथेष्ट स्रोतसाधन पनि उपलब्ध हुन्थ्यो । भत्ता र सांसदलाई पैसा बाँड्न हतारिँदा वित्तीय अनुशासन, बैंकिङ र बाह्य क्षेत्रका समस्या झन् नियन्त्रणबाहिर पुग्ने अवस्था सिर्जना भएको छ ।

बजेट आर्थिक वृद्धि र रोजगारी सिर्जनातर्फ केन्द्रित हुने भएकाले प्रत्येक वर्ष आर्थिक वृद्धिको लक्ष्य अनिवार्य राखिन्छ साथै आर्थिक वृद्धि र रोजगारीले छुन नसकेका वर्गलाई सामाजिक सुरक्षामा समेट्ने गरिन्छ । बजेट अर्थराजनीतिक दस्ताबेज हो । यसकारण स्रोतले भ्याएसम्म वित्तीय सन्तुलन नखलबल्याई भविष्यमा खर्चको बोझ नपर्ने गरी बजेटको आकार र सामाजिक सुरक्षा कार्यक्रम ल्याइन्छ । यसपालिको बजेटमा आर्थिक पक्षभन्दा पनि राजनीतिक पक्ष हावी मात्रै होइन, ‘नेकपाकरण’ भएको प्रस्ट छ ।

चार विशेषता

यो बजेटका चार मुख्य विशेषता छन् ।

पहिलो, आर्थिक आवश्यकताभन्दा पनि स्रोत निर्क्योल नहुँदै प्रधानमन्त्रीको उर्दीका कारण सांसदहरूलाई आयोजना छनोट गरी पैसा बाँड्ने सीमा २ करोडबाट ६ करोड पुर्‍याइएको छ । अघिल्लो बजेटपछि यिनै अर्थमन्त्रीले सांसदलाई बजेट विनियोजन गलत भएको र राजनीतिक दबाबका कारण आफू ‘ट्र्यापमा परेँ’ भनेका थिए । अहिले खुलेरै समर्थन गर्दै छन्, मानौं सांसदलाई बजेट नदिए विकास–निर्माण नै ठप्प हुन्छ ! संविधानको मर्म र अर्थशास्त्रको सिद्धान्तविपरीत कसरी एकै वर्षमा यो कार्यक्रम राम्रो भयो ? अहिलेसम्मको सबैभन्दा आलोचित र दुरुपयोग भनिएको यो कार्यक्रमले कसरी सांसदलाई जनतासँग नजिक बनाउँछ ?

अन्तरसमन्वय नगरी आफ्नालाई पोस्न युवा क्लब, मन्दिर, कभर्ड हल, खेलकुद मैदान, एक वर्ष पनि नटिक्ने कच्ची बाटो र पुलमा खर्च गर्दा जनताबाट उठाएको करको कसरी सदुपयोग हुन्छ ? केन्द्र सरकारको सिको गर्दै प्रादेशिक सांसदहरूले पनि यस्तै बजेट माग गरेका छन् । कानुनी तथा नीतिगत काम र सरकार तथा विकास परियोजनाहरूको अनुगमन गर्नुको साटो सांसदलाई परियोजना छनोट र खर्च गर्न दिनु कुनै पनि हिसाबले न्यायोचित छैन ।

यो विकृतिलाई हल गर्न त परै जाओस्, झन् यसकै समर्थन गर्न अर्थशास्त्री अर्थमन्त्रीलाई सुहाउँदैन । शिक्षा र स्वास्थ्यमा बजेट अपुग भएका बेला सांसदहरूलाई अर्बौं रुपैयाँ पटके आयोजनामा मनखुसी खर्च गर्न दिनु कसरी जायज हुन सक्छ ? वृद्धवृद्धा, एकल महिला, अपांग तथा लोपोन्मुख जनजातिसहित करिब १३ लाखलाई प्रत्यक्ष्य लाभ हुने गरी भत्ता बढाउँदा कम्तीमा पनी १५ अर्ब अतिरिक्त बजेट चाहिन्छ ।

तीव्र आर्थिक वृद्धि नहुँदै र राजस्व नबढ्दै यसरी पैसा बाँड्न हतारिँदा भविष्यमा आर्थिक संकट आउँछ भन्ने हेक्का हुँदाहुँदै अर्थमन्त्री र प्रधानमन्त्रीको ध्यान अर्को चुनावतिर एकोहोरियो । छरपस्ट सामाजिक सुरक्षा कार्यक्रमहरूलाई लक्षित वर्गसम्म कसरी चुस्तसँग पुर्‍याएर राज्यको ढुकुटीमा कम बोझ पार्न सकिएला भनी अध्ययन गरेर सामाजिक सुरक्षा र भत्तासम्बन्धी कार्यक्रम ल्याउनुपर्थ्यो । सस्तो लोकप्रियताका लागि पैसा थप्ने काम भयो । सामाजिक सुरक्षामा मात्र अर्को वर्ष १५७ अर्ब खर्च हुनेछ, जुन तीन वर्षमा दोब्बरभन्दा बढी हो ।

दोस्रो विशेषता हो– विस्तारकारी बजेट । अघिल्लो बजेट वित्तीय अनुशासनभित्रै बसेको जस पाएका अर्थमन्त्रीले यो पटक धेरैको आलोचना खेप्नुपर्‍यो । २०७५/७६ को संशोधित अनुमानका आधारमा २०७६/७७ को बजेट झन्डै २७ प्रतिशत बढी हो । अनुमानित कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३८.३ प्रतिशत हो ।

यसको मुख्य कारण हो– चालु खर्च २२ प्रतिशत र पुँजीगत खर्च ४९ प्रतिशतले बढ्नु । पुँजीगत खर्च बढ्दा ऋण लिए पनि फरक पर्दैन, किनकि यसले धेरै वर्षसम्म प्रतिफल दिइराख्छ । चालु खर्च बढ्नु राम्रो होइन, विशेष गरी कर्मचारीको तलबभत्ता र सामाजिक सुरक्षा खर्चका कारण । अहिलेको आवश्यकता चालु खर्च घटाएर पुँजीगत खर्च वृद्धि गर्नु हो । खर्च ह्वात्तै बढाउँदा राजस्व र वैदेशिक अनुदानले नपुगेर बजेट घाटा धान्नै नसक्ने गरेर जीडीपीको १०.७ प्रतिशत बराबर हुन गएको छ । चार वर्षअघि यो जीडीपीको ०.४ प्रतिशत मात्र थियो ।

तेस्रो, सरकारी कर्मचारीको तह हेरेर १८ देखि २० प्रतिशतसम्म तलब बढाउँदा चालु खर्चभित्र पारिश्रमिक तथा सुविधा २३.७ प्रतिशतले बढेको छ । सरकारी कर्मचारीको तलब र भत्ता दुई वर्षमा एक पटक समायोजन गरिन्छ । यसपटक विगत दुई वर्षको औसत मुद्रास्फीति दरभन्दा निकै धेरै वृद्धि गरिएको छ । यसले निजी क्षेत्रको तलब वृद्धि गर्न दबाब सिर्जना भएको छ । बजारमा खुद्रा मालसामान र तरकारीको मूल्यमा चाप सिर्जना भएको छ ।

२०७५/७६ मा कुल केन्द्रीय राजस्व लगभग चालु खर्च बराबर हुने सरकारकै अनुमान छ । २०७६/७७ मा राजस्व लक्ष्य भेटिएन भने चालु खर्च धान्न हम्मे पर्नेछ र वित्तीय सन्तुलन झन् बिग्रनेछ ।

चौथो, सबै नराम्रो पनि होइन । अर्थमन्त्रीले पार्टीको राजनीतिक दबाबका बाबजुद सकेसम्म न्यायोचित बजेट ल्याउने जमर्को गरेका छन् । सबै छात्रवृत्ति कार्यक्रमलाई एउटै ढाँचामा ल्याएर अपचलन घटाउने, स्कुले विद्यार्थीलाई दिँदै आएको दिवा खानाको पैसा आमालाई दिने, मेलम्ची र महत्त्वपूर्ण पूर्वाधार परियोजनालाई यथेष्ट बजेट दिने, सामुदायिक स्कुलका विद्यार्थीलाई निःशुल्क सेनेटरी प्याड दिने, बैंकिङ मर्जरलाई प्राथमिकता दिने, आन्तरिक उत्पादनलाई करको दर समायोजन गरेर प्रवर्द्धन गर्ने, राजस्व प्रशासन र कर प्रणालीमा संरचनागत परिवर्तन गर्ने योजना राम्रा हुन् । पुँजीगत खर्चलाई बढाउन सरकारी कर्मचारीसँग कामको सम्झौता गर्ने र पर्‍यो भने बाहिरबाट आयोजना प्रमुख ल्याउने योजना पनि सराहनीय छन् ।

कार्यान्वयन हुन्छ त ?

समग्रमा यो बजेटमा अर्थनीतिभन्दा राजनीति हावी छ, अर्थमन्त्रीभन्दा उनको पार्टी हावी छ । सञ्चार माध्यमले पनि वित्तीय अनुशासनमा खतिवडामा विचलन आएको र सम्झौता गरेको भनिसकेका छन् । सही हो, अघिल्लो बजेटजस्तो सन्तुलित छैन यसपटक ।

२०७५/७६ बजेटअगाडि अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र ल्याएर सरकार टाट पल्टिएको र सबै आर्थिक सूचक गिरेको भनेका अर्थमन्त्रीले अहिले आएर आफूले ल्याएको बजेटको समीक्षा गर्दा देश तीव्र आर्थिक वृद्धिका बाटामा बढेको बाहेक धेरै बोलेनन् । दुई वर्षअगाडिको औसत आर्थिक वृद्धि आधारभूत मूल्यमा ७ प्रतिशत थियो भने यो आर्थिक वर्ष ६.८ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।

पुँजीगत खर्च अघिल्लो वर्षभन्दा थोरै हुने अनुमान छ । बैंकिङ क्षेत्रमा तरलताको समस्या झनै बल्झिएको छ । सरकारले चाहेजति आन्तरिक ऋण उठाउन सकेको छैन । चालु खातामा घाटा अहिलेसम्मकै उच्च छ र विदेशी मुद्रा सञ्चिति घट्दो छ । आन्तरिक र विदेशी लगानी घटेको छ ।

समयमै नतिजा देखाउन यो सरकारले अब दुई पक्षमा जोड दिएर काम गर्नुपर्छ ।

पहिलो, बजेट पूर्ण कार्यान्वयन गरी पुँजीगत खर्च क्षमताका साथसाथै खर्चको गुणस्तर पनि बढाउने । डेढ महिनाअगाडि बजेट ल्याई कार्यान्वयन गर्ने खाका प्रकाशित गरे पनि यो आर्थिक वर्षमा पुँजीगत खर्चमा खासै प्रगति भएको छैन । विकासको असारे प्रवृत्तिले अन्तिम चौमासिकमा ६० प्रतिशत खर्च भुक्तानी हुन्छ ।

यसका कारण हुन्– परियोजना छनोट र कार्यान्वयनमा कर्मकाण्डी काम, परियोजना व्यवस्थान र ठेकेदारको क्षमतामा कमजोरी, स्थानीय तहमा खर्च गर्ने परियोजनामा बढ्दो आर्थिक अपचलन र योजना छनोट, कार्यान्वयन तहमै राजनीतिक हस्तक्षेप । निजी लागानी बढाउन भर्खर जारी भएका कानुनलाई पूर्णता दिन नीति, नियमावली, निर्देशिका र संस्थागत ढाँचा तुरुन्त तयार पार्नुपर्छ । यसले नीतिगत र कार्यान्वयनमा स्पष्टता दिन्छ ।

दोस्रो, सरकारी काम र परियोजनामा मौलाएको आर्थिक अपचलन तथा भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्छ र शान्तिसुरक्षामा खलल पर्न दिनु हुन्न । यति मात्र गरे पनि ६ प्रतिशतमाथिको आर्थिक वृद्धि हासिल गर्न कुनै समस्या हुँदैन ।